३० कार्तिक २०८१, शुक्रबार
नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपाली समाजमा सबै वकिल भएको बताएका छन्। उनले अदालतमा केही व्यक्ति वकिल हुनु स्वभाविकै भए पनि समाजमा सबै वकिल नै वकिल भएको भन्दै आलोचना गरे।
‘आलोचनात्मक चेत कमजोर, सचेतता कमजोर, बुद्धिजीवी र नागरिक समाज त्यस्तो छैन। सत्यता त आउनै छाड्यो। संविधानको व्याख्या पनि पार्टीपिच्छे फरक हुनथाल्यो। हामी भ्रष्टिकरणको दिशातिर गइरहेका छौं। हामी सबै वकिलमा परिणत भयौं’, श्रेष्ठले भने।
काठमाडौंमा बिहीबार अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको ‘राज्य संरचनाका हरेक निकायमा महिला प्रतिनिधित्व’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली समाज बनाउन सजिलो नभएको पनि उल्लेख गरे।
उनले देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै कहाँबाट सुधारको काम गर्ने भन्नै गाह्रो रहेको बताए। ‘एक ठाउँमा मात्रै भए पो हुन्छ। हर ठाउँमा अनियमिता र भ्रष्टाचारको जालो छ’, उनले भने।
श्रेष्ठले हरेक पार्टीभित्र महिलाहरुले पितृसत्ताका विरुद्ध हुने संघर्ष जति बलशाली हुन्छ, पार्टी पनि अग्रगामी दिशातिर बढि जाने र अहिलेको उपलब्धी पनि व्यवहारमा लागु हुने बताए।
उनले पार्टीभित्र पितृवादी सोचका कारण महिलाको प्रतिनिधित्व बढाउन नसिकएको बताए। ‘निर्वाचन आयोगले बाध्य नबनाउँदा वा सर्वोच्चले आदेश नगरुञ्जेल सबै पार्टीले ३३ प्रतिशत प्रतिनिधित्व गराउलान् भन्ने लाग्दैन’, उनले भने, ‘महाधिवेशनपछि भने अनिवार्य ३३ प्रतिशत प्रतिनिधित्व हुन्छ।’
श्रेष्ठले दोस्रो संविधानसभामा रहेको शक्ति सन्तुलनले गर्दा सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग, भाषिक र सांस्कृतिक समूदायको समानुपातिक समावेशीकरणको हक सुनिश्चितता सुनिश्चित गर्न नसकिएको बताए। ‘पछि संविधान संशोधन गर्ने भनेर समानुपातिक समावेशी राख्ने भइयो। तर यस्तो संविधान संशोधन भयो कि त्यसको कुनै कामै छैन। नेपालमा भएजतिका सबै क्याटोगोरीको समुदाय राखेर समानुपातिक समावेशी भनिएको छ। त्यो लागु नगर्ने भनिएको हो। इमानदारीपूर्वक भन्दाखेरी। त्यस्तो खालको संविधान संशोधन भयो। जसको कुनै अर्थ र औचित्य नै छैन’, श्रेष्ठले भने, ‘महिला दलित जनजाति मधेसी जस्ता क्याटागोरी राखेर त्यसलाई समाजिक न्यायको हकमा राखेको समानुपातिक समावेशी भनेको भए पाउँथ्यो। तर भएजति युवा किसान मजदूर जस्ता समाजमा जति पनि समुदाय छन्। सबैलाई राखिदिएपछि त्यो लागु हुँदैन। त्यो विवाद पहिले पनि थियो। अहिले पनि छ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले मागेर अधिकार नपाइने भएकाले लडेर लिन महिला नेतृहरुलाई आग्रह गरे। ‘महिला नेतृत्वहरु एकदुई पटक डेलिगेसन लिएर नेताहरुलाई भेट्न जानुभएको थियो’, उनले भने, ‘त्यो भेटघाटले केही हुँदैन। केही पाइँदैन। अब कठालो समात्ने बेला आयो।’
उनले सभा सेमिनारभन्दा पनि संघर्ष गर्न मलाई नेतृहरुलाई अनुरोध गरे। उनले संविधानमै विरोधाभाष रहेको बताए। ‘संविधानमा एक ठाउँमा समानुपातिक लेखिएको छ र अर्को ठाउँमा महिला प्रतिनिधित्व ३३ प्रतिशत लेखिएको छ’, उनले भने, ‘यो विरोधाभाष हो।’
अहिले भएको ३३ प्रतिशत पनि दलहरुलाई टाउको दुखाइको विषय भइरहेकाले हटाउन पनि सक्ने भएकाले सचेत बन्न आग्रह गरे।
कार्यक्रममा सञ्जालकी केन्द्रीय सदस्य शशी श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिइन्।