नागरिकता नहुनेलाई पनि मतदान गर्न दिनुपर्छ : उपेन्द्र यादव

होमल्याण्ड खबर

२०७८ पुष ४ गते, आईतवार १४:१३ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताएका छन् । आइतबार फेसबुकमार्फत उनले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताएका हुन् ।

लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेकोउनले बताएका छन् । ‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उनले भनेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने यादवले बताए । ‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो रु तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ’ उनले भनेका छन् ।

जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।