९ मंसिर २०८१, आईतवार
भक्तपुरको सूर्यविनायकस्थित पलाँसेमा रहेको ‘काठमाडौँ फन भ्याली’ नयाँ स्वरुपमा सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित सञ्चालनमा आएको फन भ्यालीमा सबै उमेर समूहका मानिसहरु पुग्ने गरेका छन् ।
नेपालमै पहिलो वाटर पार्कसमेत सञ्चालनमा आएको छ । काठमाडौं उपत्यका भित्रै रहेकोले यो ठाउँ परिवार तथा साथीहरुसहित घुम्न, स–परिवार घुम्नको लागि मानिसहरुको रोजाईको केन्द्र बन्ने गरेको छ । खासगरी विदाका दिनहरुमा शान्त र मनोरम वातावरणमा रमाउन चाहानेका लागि उपयुक्त ठाउँ रहेको छ ।
नेपालमा समुन्द्री छालको मज्जा लिन चाहानेहरुका लागि त काठमाडौं फन भ्याली आर्कषक गन्तव्य हो । फन भ्यालीमा पुग्नेहरुले पौडी मात्रै होइन ‘लाइभ म्युजिकको मज्जा पनि लिन पाउनेछन् । यस्तै नयाँ पूर्वाधार रेष्टुरेन्ट पनि सञ्चालनमा आएको छ ।
फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटन तथा, आर्थिक विकाससँगै काठमाडौँ उपत्यकाका बासिन्दालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले थप सेवा सुविधासहित सञ्चालनमा ल्याइएको बताए । फन भ्याली पुग्नेहरुले कर्णालीको कला संस्कृति झल्किने म्युजियमसमेत अवलोकन गर्न सक्नेछन् ।
११ करोड रुपैयाँको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए । डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फनपार्कमा ३० जना स्थानीयवासीलाई प्रत्यक्ष रोजगारी दिइएको उनले जानकारी दिए । परिवारिक वातावरणमा सञ्चालित सो भ्यालीमा कोभिड–१९ सुरक्षा मापदण्ड अपनाइएको छ ।
मुम्बईको वाटर किङडममा लाग्ने भीड देखेर नेपालमै पहिलोपटक त्यस्तै फनपार्क सञ्चालनमा ल्याउने उद्देश्यअनुरुप ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा करिब तीन हजार जनाले रमाउन सक्ने गरी पार्क सञ्चालनको व्यवस्था गरिएको सञ्चालकको भनाइ छ । आन्तरिक पर्यटक भित्र्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ स्थापित पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा गेमिङ जोन र चारवटा वाटर जोन छन् ।
पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ ।
त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुद्रमा मात्र देख्न पाइने समुद्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् । हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पार्क सञ्चालन हुनेछ ।
त्यस्तै ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने रेष्टुरेन्टको समेत यहाँ व्यवस्था छ ।