१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेविसंघ, महिला संघ हुँदै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय थिइन्।


कांग्रेस केन्द्रीय संसदीय समितिले महानगरको मेयर र उपमेयरको टिकट दिने अधिकार सभापति शेरबहादुर देउवालाई सुम्पने आइतबार निर्णय गरेको थियो।
जसअनुसार आज मध्यान्हसम्म सभापति देउवाले तीन महानगर र तीन उपमहानगरमा मेयर तथा उपमेयरको नाम टुंगो लगाउनेछन्।
सभापति देउवाले सिर्जनालाई मेयरको टिकट दिएका हुन्। आज बिहान ११ बजे पार्टीका मुख्यसचिव केन्द्रीय कार्यालय सानेपा पुगेपछि कहाँ को उम्मेदवार भए भन्नेबारे सार्वजनिक गरिने भएको छ।
सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्। सिंह महिला संघ काठमाडौंको सल्लाहकार पनि छिन्। उनलाई मेयर उठाउनुपर्ने महिला संघ र काठमाडौं नेविसंघले माग गर्दै आएका थिए।
गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठेका प्रकाशमान सिंह पहिलो चरणबाट बाहिरिएपछि दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए।
कांग्रेसले काठमाडौंको मेयरमा सिर्जनालाई टिकट दिने लगभग पक्का भएपछि उनको सचिवालयबाट दिउँसो १ बजे मनोनयनका लागि जाने जानकारीसमेत सार्वजनिक गरिएको छ।