२९ आश्विन २०८३, बिहीबार
बडादशैँ मनाउन घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। चाडपर्व नजिकिएसँगै अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा काठमाडौँमा रहँदै आएका नागरिकहरू जन्मथलो फर्किने क्रम बढेपछि उपत्यकाका प्रमुख नाका र बसपार्कहरूमा यात्रुको बाक्लो चाप देखिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सो अवधिमा कुल ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रुहरू बाहिरिएका हुन्। उपत्यका छाड्नेहरूमा १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्।


नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाहरूबाट घर फर्किने यात्रुको चाप तीव्र बनेको छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी साधनको चाप व्यवस्थापन गर्न र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएर विशेष जाँच तथा निगरानी गरिरहेको छ।
हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। ट्राफिक प्रहरीले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यप्रति विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।