बागी उम्मेदवारी फिर्ता लिन रामचन्द्र पौडेलको आग्रह, जगन्नाथ पौडेलद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०७९ बैशाख २२ गते, बिहीबार १२:०७ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन्। बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका हुन् ।

वरिष्ठ नेता पौडेलले स्वतन्त्र उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा लगायतका नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर आफूहरु धेरै अगाडि बढिसकेकोले उम्मेदवारी फिर्ता नलिने जगन्नाथ र कृष्णलालले जवाफ दिए ।

भरतपुर पुगेका रामचन्द्र पौडेलसँगै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पनि स्वतन्त्र उम्मेदवारी दिएका पौडेलसँग छलफल गर्ने भनिएको थियो । तर आफूहरु अहिले चुनावी प्रचारमा लागिसकेको पौडेलले जानकारी दिए ।

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेनु दाहाल उम्मेदवार भएपछि त्यसको विरुद्धमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।