आज दाेस्राे स्थानीय निर्वाचन: ३५,२२१ पदका लागि मतदान हुँदै

होमल्याण्ड खबर

२०७९ बैशाख ३० गते, शुक्रबार ०७:०५ मा प्रकाशित

संघीयता लागू भएपछिको दोस्रो स्थानीय तह निर्वाचन आज बिहान ७ बजेबाट मुलुकभरमा ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका मतदान केन्द्रमा एकैपटक मतदान सुरु हुँदैछ । ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ७५२ निर्वाचन अधिकृतको कार्यालयले मतदान सुरु हुने जनाएका छन् ।

६ हजार ७४३ वटा वडामा १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्नेछन् । ३५ हजार २२१ जना उम्मेदवारमध्ये निर्विरोध निर्वाचितबाहेकका जनप्रतिनिधि छनोट गर्न मतदाताहरु उत्साहपूर्वक मतदान कार्यमा अघि बढेका छन् ।

मतदान केन्द्रमा एक लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक खटिएको निर्वाचन आयोगले जनाएको छ ।