९ मंसिर २०८१, आईतवार
फिल्म ‘सेन्टीभाइरस’ रिलिजसम्म धुर्मुस नामले चर्चित अभिनेता सीताराम कट्टेलको कलाकारिताको गति एकनासले अघि बढिरहेको थियो । जब भरतपुरमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन उनले हात हाले उनको यो गति कतै अलमलियो । अब भने सीताराम रंगशाला बनाउने जिम्मा सरकारलाई सुम्पिएर फिल्म र टेलिश्रृंखला बनाउने काममा फर्किने तयारीमा छन् ।
यसै महिना क्रिकेट रंगशालाको विषय टुंगिने र कलाकारितामा अघि बढ्ने आफ्नो तयारी रहेको धुर्मुसले बताए । ‘रंगशालाको विषय टुंगिएपछि सिर्जनासँग काम गर्न वातावरण पनि चाहिन्छ । यसकै प्रतीक्षामा छु,’ उनले भने । धुर्मुस केही क्यारेक्टरमा काम गरिरहेका छन् र तीमार्फत कमब्याक गर्न चाहन्छन् । उनी टेलिसिरियलमा फर्किने तयारीमा छन् । यसका लागि उनले धुर्मुसभन्दा भिन्न पात्रमा काम गरिरहेका छन् ।
‘कमर्सियल हिसाबमा फिल्म नै गर्ने कि टेलिफिल्ममा फर्कनेबारे मनस्थिति बनाउँदैछु, उनले भने, ‘चाँडै यसबारे औपचारिक जानकारी दिनेछौं ।’ सीतारामले निर्माण गरेको फिल्म सेन्टीभाइरस सन् २०२० मा रिलिज भएको थियो । त्यसलगत्तै कोरोना महामारी सुरु भएको थियो ।