रेशम चौधरीको मुद्धामा आज सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०७९ माघ २२ गते, आईतवार १४:०४ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरी लगायतका मुद्दामा आज सुनुवाइ हुँदैछ । यो मुद्धा सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ ।

हालसम्म ४ पटक पेसीमा चढेपनि दुई पटक ‘हेर्न नमिल्ने’ बेञ्चमा परेको थियो । यस्तै, अर्को पेसी अदालतबाटै स्थगित भएको थियो । आज १०औँ नम्बर पेसी सूचीमा यो मुद्दा रहेको छ ।

२०७७ भदौ ७ गते कैलालीको टीकापुरमा अखण्ड सुदूरपश्चिम र थरुहट प्रदेशको माग गर्ने दुई समूहबीच भएको झडप र आन्दोलनका क्रममा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको हत्या भएको थियो ।

उक्त घटनामा रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतलाई दोषी मानिएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका रेशमलाल चौधरी घटनामा आफ्नो संलग्नता नरहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

उच्च अदालतले पनि कैलाली जिल्ला अदालतकै फैसला सदर गर्दै पूर्व सांसदसमेत रहेका चौधरीलाई दोषी ठहर गरिएको थियो । उच्च अदालतको फैसलाअनुसार रेशम चौधरीले हाल डिल्लीबजारस्थित कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।