मदनकृष्ण श्रेष्ठको बायोपिक ‘मदनकृष्ण’ निर्माण घोषणा

होमल्याण्ड खबर

२०८३ असार ८ गते, सोमबार १६:१७ मा प्रकाशित

बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक कार्यक्रम गर्दै बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।

यो अग्रज कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक हो । मदनकृष्ण श्रेष्ठको जिन्दगीका आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ बन्नेछ ।

बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्सले यसअघि बायोपिक ‘अञ्जिला’, ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए ।

नेपाली अभिनेताको बायोपिक बन्न लागेको यो पहिलोपटक हो । मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ ।

‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।