‘मास्टर्नी’ को विवादित गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको चेतावनी, प्रियंका भन्छिन्– “मनोरञ्जन मात्र हो”

होमल्याण्ड खबर

२०८३ श्रावण १ गते, शुक्रबार १४:५४ मा प्रकाशित

आगामी चलचित्र ‘मास्टर्नी’ को प्रबर्धनात्मक गीत ‘म्याथ सिक्ने भए…’ ले बौद्धिक र पेसागत वृत्तमा तीव्र विवाद निम्त्याएको छ। नेपाल शिक्षक महासंघले एक आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त गीतले समग्र शिक्षण पेसाकै अपमान गरेको भन्दै यसको प्रसारण तत्काल बन्द गर्न कडा माग गरेको छ।

महिला शिक्षक र शिक्षण पेसाकै गरिमामाथि प्रहार

नेपाल शिक्षक महासंघले जारी गरेको विज्ञप्तिमा उक्त गीतले महिला शिक्षक, पवित्र शिक्षण पेसा र गणित (म्याथ) विधाको सामाजिक एवं व्यावसायिक गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख छ। महासंघले कला र सिर्जनाको नाममा गुरुआमा र विद्यालयको संवेदनशीलतालाई सस्तो रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएको हो।

जनस्तरबाट ‘छाडा र दुईअर्थी’ भन्दै आक्रोश, दुर्गेशको शब्द र संगीत

दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको यस गीतलाई जनस्तरबाट समेत व्यापक रूपमा ‘दुईअर्थी र छाडा’ भनी आलोचना गरिएको छ। टिकटक र सामाजिक सञ्जालमा गीत भाइरल भइरहँदा यसको नकारात्मक सन्देशबारे चौतर्फी बहस सुरु भएको छ। महासंघले यस प्रबर्धनात्मक गीतलाई युट्युब र अन्य डिजिटल प्लेटफर्मबाट तत्काल हटाउन र चलचित्रको मूल कथामा समेत यसलाई प्रयोग नगर्न निर्माता पक्षलाई कडा सचेत गराएको छ।

केवल मनोरञ्जनका रूपमा लिन निर्माता प्रियंका कार्कीको आग्रह

चौतर्फी घेराबन्दी र विवादका बीच चलचित्रकी निर्माता एवं मुख्य अभिनेत्री प्रियंका कार्कीले भने गीतको बचाउ गरेकी छन्। उनले यसलाई विशुद्ध रूपमा चलचित्रको प्रवर्द्धन र दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले मात्र तयार पारिएको दाबी गरेकी छन्। कलाकार कार्कीले गीतलाई अनावश्यक रूपमा पेसागत प्रतिष्ठासँग जोडेर विवाद नबढाउन र केवल सिनेमाको पाटोका रूपमा बुझिदिन आम दर्शक तथा शिक्षक महासंघसँग आग्रह गरेकी छन्।