महिलालाई सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम

होमल्याण्ड खबर

२०८३ श्रावण २५ गते, सोमबार ११:४२ मा प्रकाशित

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाली महिलाका लागि विशेष महत्व राख्ने श्रावण महिनाको अवसरमा कार्यक्रम श्रावण २३ र २४ गते आयोजना गरिएको कम्पनीले जनाएको छ ।

शनिबार र आइतबार आयोजित कार्यक्रममा इसेवा प्रयोगकर्तासहित सामाजिक सञ्जालमार्फत सहभागी भएका विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको उल्लेखनीय सहभागिता रहेको थियो । कम्पनीका अनुसार कार्यक्रमले सहभागीलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी–सङ्गीसँग एकै ठाउँमा मनाउने अवसर प्रदान गरेको हो ।

श्रावण र तीजको परम्पराबाट प्रेरित कार्यक्रममा मेहेन्दी लगाउने, तत्काल तस्बिर खिच्ने तथा छपाइ गर्ने व्यवस्था, विभिन्न खेल खेल्ने र आकर्षक पुरस्कार जित्ने जस्ता गतिविधि सञ्चालन गरिएको थियो। यसले सबै उमेर समूहका सहभागीलाई जीवन्त र रमाइलो उत्सवको अनुभव दिलाएको इसेवाले जनाएको छ ।

कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभर सञ्चालन हुने ‘उनी नै हरियो संकेत’ अभियानअन्तर्गत आयोजना गरिएको हो। अभियानले आफू मात्र होइन, अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यतर्फ अघि बढ्न र सकारात्मक प्रभाव पार्न प्रेरित गर्ने महिलाको सम्मान गर्ने उद्देश्य राखेको छ।

इसेवाले महिलालाई हरेक दिन कदर र सम्मान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कम्पनीका अनुसार यस कार्यक्रमले श्रावण र तीजलाई थप विशेष र अविस्मरणीय बनाएको छ ।