बाढीपीडित भन्छन्- शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए शान्ति मिल्थ्यो

होमल्याण्ड खबर

२०८३ भाद्र १६ गते, मंगलवार १६:२९ मा प्रकाशित

भदौ  १० गते चीनको केरुङ क्षेत्रबाट आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति पुर्‍याएको छ ।

भोटेकोसी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) का कारण हजारौँ नागरिक बेपत्ता भएका छन् भने अर्बौंको भौतिक पूर्वाधार ध्वस्त भएको छ ।

पीडितहरूले भने विपद्को यति दिनपछि पनि राज्यको उपस्थिति महसुस गर्न नपाएको गुनासो गरेका छन् । उद्धार तथा राहतमा चरम ढिलाइ भएको उनीहरूको गुनासो छ ।

रसुवाको कालिका गाउँपालिका–३ का स्थानीय अर्जुनप्रसाद न्यौपानेकाअनुसार बाढीले रसुवागढी बोर्डरदेखि बेत्रावतीसम्मको तल्लो र माथिल्लो तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ । रसुवागढी, टिमुरे, घट्टेखोला, स्याफ्रुबेँसी, पहिरेबेँसी र मैलुङलगायत क्षेत्रमा रहेका मानव बस्ती र भौतिक संरचनाहरू बाढीले नामेट पारेको उनले बताए ।

 “हाम्रो जिल्ला नेपालको अन्तिम भूभागमा पर्ने भएकाले पनि हो कि, राज्यले सधैँ सौतेनी व्यवहार गरिरहेको छ,” न्यौपाने भन्छन्, “उद्धारका लागि समयमै हेलिकोप्टर पुग्न सकेन । मानिसहरू तितरबितर भएका छन्, को कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।”

बाढीले सडक सञ्जाल र पुलहरू पूर्ण रूपमा ध्वस्त भएपछि रसुवाका माथिल्लो भेगका धुन्चे, स्याफ्रु, गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिम, हाकु र तिरुजस्ता गाउँहरूसँगको सम्पर्क टुटेको छ । ती क्षेत्रमा खाद्यान्न संकट चुलिएर भोकमरीको अवस्था सिर्जना हुन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

वैकल्पिक सडक मार्ग नभएकाले तत्काल हवाई मार्गबाट राहत सामग्री ढुवानी नगरे बाँचेका नागरिक पनि भोकै मर्ने अवस्था रहेको न्यौपाने बताउँछन् ।

होटल व्यवसाय गर्दै आएका नुवाकोटको विदुर–१०, बेत्रावतीका शेषबहादुर लामिछानेको घर त्रिशूली नदीको सतहभन्दा निकै माथि थियो । तर, सुनामीजस्तो आएको बाढीले उनको सर्वस्व लुटेको छ ।

“श्रीमतीले मलाई बुबा र दाइहरूलाई बचाउन पठाएकी थिइन्, मैले उनीहरूलाई त सुरक्षित ठाउँमा पुर्‍याएँ, तर मेरी श्रीमती भाग्न सकिनन्,” लामिछाने भावुक हुँदै भने, “मेरो दाइकी नातिनीलाई कान्लामा फ्यालेर उनले बच्चाको ज्यान त बचाइन् तर आफूलाई भने बाढीबाट जोगाउन सकिनन् ।”

लामिछाने अहिले काठमाडौंका अस्पताल र मर्चरीहरूमा श्रीमतीको खोजीमा भौँतारिइरहेका छन् ।

शव पहिचानमा पनि समस्या छ । “हामी त सडकमा आयौँ । राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भए पनि शान्ति मिल्ने थियो,” उनले भने ।

सल्यानबाट रसुवा हाइड्रोपावरमा काम गर्न आएका १६ जना कामदारको एउटै समूह बाढीमा परेर बेपत्ता भएको छ । तीमध्ये एकका आफन्त आशा मगरले सरकारको लापरबाहीका कारण यति ठूलो मानवीय क्षति भएको आरोप लगाए ।

“हाम्रो दुईवटा भाई, काका र छिमेकी गरी १६ जना सबैलाई बाढीले लग्यो । सरकारले सूचना दिएको भए उनीहरू किन भागेनन् ?” उनले आक्रोश पोखे, “८ बजे चीनमा बाँध फुटेको जानकारी हुँदाहुँदै १० बजे बाढी आउँदासम्म किन स्थानीयलाई शतर्क गराइएन ?”

त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा आफन्तको नाम वा फोटो फेला पर्ने आशमा बसेका धेरै निराश भएर फर्कनुपर्ने अवस्था छ ।

बाढीपीडितहरूले तत्कालीन राहतले मात्र जीवन निर्वाह नहुने भन्दै दीर्घकालीन पुनर्स्थापनाको माग गरेका छन् । घरवास, श्रीसम्पत्ति र परिवारका सदस्य गुमाएकाहरूका लागि राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरूको माग छ । -न्युज एजेन्सी नेपाल