म्यानमार सेनाको हवाई आक्रमणमा राखाइनमा ४९ जनाको मृत्यु

होमल्याण्ड खबर

२०८३ आश्विन १३ गते, मंगलवार १०:३७ मा प्रकाशित

म्यानमार सेनाले पश्चिमी राखाइन राज्यको एउटा बजारनजिक सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । ५८ जना घाइते छन् । आक्रमणका बेला बजारमा व्यापारी र ग्राहकको बाक्लो भीड रहेको जनाइएको छ ।

विद्रोही संगठन ‘अराकान आर्मी’को नियन्त्रणमा रहेको उक्त क्षेत्रमा सेनाको लडाकु विमानले बजारनजिक दुइटा बम खसालेको थियो । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ । म्यानमार सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

आक्रमणपछि बजार क्षेत्रबाट धुवाँको मुस्लो उठेको देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

अराकान आर्मीले मंगलबार जारी गरेको वक्तव्यमा आक्रमणका निम्ति जिम्मेवार व्यक्ति र संगठनविरुद्ध चाँडै जवाफी कारबाही गर्ने चेतावनी दिइएको छ । उसले हवाई आक्रमण नियतवश गरिएको र ठूलो संख्यामा सर्वसाधारण मारिएको आरोप लगाएको छ ।

सन् २०२१ फेब्रुअरी १ मा म्यानमारमा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । सुरक्षा बलको दमनपछि सैन्य शासनका धेरै विरोधी सशस्त्र युद्धमा प्रवेश गरे । त्यसयता देशका विभिन्न क्षेत्रमा लडाइँ जारी छ ।

अराकान आर्मी राखाइनको जातीय अल्पसंख्यक समुदायलाई बढी स्वायत्तता दिलाउने उद्देश्यसहित सक्रिय सशस्त्र संगठन हो ।