विश्व व्यापार नियम उल्लंघन गर्दै अमेरिका

होमल्याण्ड खबर

२०७४ पुष २८ गते, शुक्रबार ०७:०३ मा प्रकाशित

एजेन्सी

अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको भन्दै क्यानडाले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ ।
सहुलितका सामग्रीमाथि अमेरिकाले गरेको अनुसन्धान र लागत मूल्यभन्दा कममा गरेको बिक्रीलाई आधार मान्दै क्यानडाले अमेरिकाविरुद्ध मुद्दा दायर गरेको हो ।
अमेरिकाले भने क्यानडाको यस किसिमको आरोप कतै पनि फेला नपरेको जनाएको छ ।
दुई मुलुकबीच दुग्ध, विमानको बिक्री र काठका साथसाथै नाफ्टाको विषयमा पुनः छलफल गर्ने विवाद उत्पन्न भएपछिको अवस्थामा क्यानडाको यो कदम आएको हो ।
क्यानडाले विश्वभरिका मुलुकको उत्पादनमा अमेरिकाले गरेको अनुसन्धानको विषयलाई आधार मान्दै ३२ पृष्ठ लामो मुद्दा दायर गरेको छ ।
“कैयांै वर्षदेखि यो विश्वव्यापी भएको छ । त्यसैले यसलाई डब्लूटीओमा ल्याउनका लागि सान्दर्भिक भएको छ,” रिडिउ पोटोम्याक स्ट्राटेजी ग्रुपका अध्यक्ष इरिक मिलरले बताए । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको मातहतमा बारम्बार प्रयोगमा ल्याएको प्रक्रियालाई क्यानडाले निसाना बनाएको छ । व्यापारको क्षेत्रमा ट्रम्प संरक्षणवादी देखिँदै आएका छन् । गत वर्ष अमेरिकी वाणिज्य विभागले ८० भन्दा बढी एन्टी डम्पिङ र काउन्टरभेलिङ भन्सारको अनुसन्धान गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो ।
विशेष गरी निजी कम्पनीहरूले सहज बनाएको अनुुसन्धानले भारी भन्सारको अवस्थातर्फ डो¥याउने सम्भावना देखिएको छ ।
यसै साता अमेरिकी वाणिज्य विभागले अतिरिक्त अनुसन्धानको घोषणा गरेको थियो । यसमा क्यानेडियन न्युजप्रिन्टका उत्पादन पनि समावेश छ ।
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहिजरले क्यानडाले डब्लूटीओमा गरेको अमेरिकाविरुद्धको उजुरी अमेरिकी व्यापार व्यवस्थाविरुद्धको कमजोर सल्लाहबाट प्रेरित भएको आक्रमण भएको बताएका छन् ।