९ मंसिर २०८१, आईतवार
बंगलादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा करिव २० हजार अश्लील वेबसाइट बन्द गरिएको छ।
मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन्।
बंगलादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरका अनुसार ‘मैले बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,’।
सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको बंगलादेशका सरकारी उच्च अधिकारीहरूले ठानेका छन्।
दक्षिण एशियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए ।
अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए।
बंगलादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ।
बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन्।