९ मंसिर २०८१, आईतवार
अफगानिस्तानका लेगस्पिनर राशिद खानले टि–२० क्रिकेटमा नयाँ विश्वरेकर्ड बनाएका छन् । उनी टि–२० अन्तर्राष्ट्रियमा लगातार ४ बलमा ४ विकेट लिने विश्वका एकमात्र बलर बनेका छन् । टि–२० क्रिकेटमा अहिलेसम्म कसैले पनि लगातार ४ बलमा ४ विकेट लिएका थिएनन् ।
हिजो भएको आयरल्याण्डविरुद्धको खेलमा उनले लगातार ४ बलमा ४ विकेट लिए । राशिदले खेलमा कूल २७ रन दिँदै ५ विकेट लिएका छन् । उनले आफ्नो दोस्रो ओभरको अन्तिम बल र तेस्रो ओभरका सुरुका ३ बल गरी लगातार ४ बलमा ४ विकेट लिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै बलरले लगातार ४ बलमा ४ विकेट लिएको यो दोस्रो पटक हो । यसअघि २००७ को विश्वकपमा श्रीलंकाका लासिथ मालिंगाले लगातार ४ बलमा ४ विकेट लिएका थिए । मालिंगाले दक्षिण अफ्रिकाविरुद्धको वन डेमा लगातार ४ बलमा ४ विकेट लिएका थिए भने राशिदले टि–२० मा लगातार ४ बलमा ४ विकेट लिएका हुन् । राशिद टि–२० मा ह्याट्रिक गर्ने संसारका सातौं बलर हुन् ।
उनीभन्दा पहिले अस्ट्रेलियाका ब्रेट ली, न्यूजिल्याण्डका ज्याकब ओरम र टिम साउदी, श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंगा तथा पाकिस्तानका फहीम अशरफले टि–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गरेका छन् ।