ट्रम्प–किम वार्ता आज

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार १०:५६ मा प्रकाशित

आज अमेरिका र उत्तर कोरियाबीच हुने दोस्रो शिखर सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन भियतनामको हनोइमा पुगिसकेका छन् । किम मंगलरबार बिहान हनोइमा पुगेका हुन् भने ट्रम्प मंगलबार राति पुगेका हुन् । उनीहरुबीच आज रात्रिभोजसहितको वार्ता हुने बताइएको छ ।

अहिले सम्मको अनुमान अनुसार दुई नेताहरुबीच शान्तिका लागि घोषणपत्रमा हस्ताक्षर हुने र अमेरिकाले नाकाबन्दी आंशिक रुपमा हटाउने लगायतका विषयमा सम्झौता हुन सक्नेछ । यद्यपि सहमति गर्ने विषयलाई अन्तिम रुप दिने काम भइरहेको जनाइएको छ । यही दिशामा दुई शीर्ष नेताबीच कुरा हुने समाचारहरुमा जनाइएको छ । आज दुई नेताबीच रात्रिभोज र दुई जनामात्रैको वन टु वन बैठक समेत हुनेछ ।

त्यसपछि दुवै नेताले आफ्ना दुई जना मुख्य सल्लाहकारलाई समेत बैठकमा सामेल गर्नेछन् । बिहीबार भने दिनभरी नै नेताहरु व्यस्त हुने जनाइएको छ ।

आजको बैठक भियतनामको समय अनुसार साँझ ६ः३० बजे (नेपाली ५ः१५बजे ) शुरु हुनेछ । विहीबार पत्रकार सम्मेलन, सहमतिमा हस्ताक्षर जस्ता गतिविधि हुनेछन् । समयको फरकका कारण ट्रम्पले उत्तर कोरियाली नेतासँगका भोलि मुख्य गतिविधिमा भाग लिँदा अमेरिकी नागरिकहरु भने सुत्ने बेला भइसकेको हुनेछ । तर, भोलिको कार्यक्रमको तालिका आइसकेको छैन ।

दुई नेताबीचको शिखर सम्मेलनको समाचार संकलनका लागि विश्वभरीका हजारौं पत्रकारहरु अहिले भियतनाम पुगेका छन् । हनोइमा हिजो साँझ उत्रिएपछि अमेरिकी राष्ट्रपतिले ट्विट गर्दै ठूलो भीड लागेर भियतनाममा स्वागत र माया गरिएकोमा भियतनामी नागरिकलाई धन्यवाद दिएका थिए ।