पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ टोली नेपाल आउँदै

होमल्याण्ड खबर

२०७५ फाल्गुन २० गते, सोमबार ११:१४ मा प्रकाशित

पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न चिनियाँ टोली नेपाल आउने भएका छन् । पेट्रोलियम खानी अन्वेषणका लागि हालै बेइजिङमा नेपाल र चीनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार एक महिनाभित्र चिनियाँ जिओलोजिकल सर्भेको विज्ञ टोली नेपाल आउने पेट्रोलियम खानी विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

नेपालबाट गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा नेतृत्वको टोलीले चिनियाँ जिओलोजिकल सर्भेसँग पेट्रोलियम खानी अन्वेषणको काम अघि बढाउने सम्झौता गरेको हो । २०७२ चैतमै नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषणसम्बन्धी द्विपक्षीय सम्झौता भई सम्भाव्यता अध्ययन भए पनि कार्यान्वयन प्रक्रिया अघि बढेको थिएन । चिनियाँ प्रतिनिधिले विभिन्न देशमा खानीको अन्वेषण गर्दै आएकाले छिमेकी मुलुक नेपालमा समेत अन्वेषण गर्न इच्छुक भएको नेपाली प्रतिनिधि मण्डलले जानकारी दिएको छ ।

उनका अनुसार चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख र सुर्खेतमा पेट्रोलियम खानीको अन्वेषण गर्नेछ । पेट्रोल अन्वेषण र उत्खनन् गर्न चिनियाँ जिओलोजिकल सर्भे विश्वकै उत्कृष्ठ संस्था मानिन्छ । चिनियाँ विज्ञ टोलीले पाल्पा, दैलेख, सुर्खेत पुगेर त्यहाँ रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम गरी ईन्धन रहे÷नरहेको पत्ता लगाउने छ । यसअघि २०७३ वैशाखमा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खनन्को सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

संविधानमा असहमति जनाउँदै नाकाबन्दी लगाएर इन्धन आपूर्तिमा भारतले अवरोध गरेपछि मात्रै केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले चीनलाई पेट्रोलियम अन्वेषणमा भित्रयाउन पहल गरेको थियो । विभागका अनुसार पेट्रोलियम खानी अन्वेषणका लागि एक करोड बजेट विनियोजन भएको छ । खानी अन्वेषणका लागि नेपालले झन्डै ४ अर्ब लागत लाग्ने प्रस्ताव पठाएकोमा चीन सरकारले अनुदान वापत २ अर्ब २० करोड छुट्याएको घिमिरेले जानकारी दिए ।

नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृङ्खलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् । पाकिस्तानले चुरे पर्वत शृङखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृङ्खलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ ।
तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे यसबारे चासो देखाउँदै चिनियाँ टोलीसहित सम्भाव्य क्षेत्रमा पुगेका थिए । चीनले गरेको प्रारम्भिक अध्ययनबाट उक्त क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भइसकेको छ ।

दैलेखमा पेट्रोलियम ग्यास रहेको पुष्टि भएको विभागका अधिकारी बताउँछन् । कति परिमाणमा ग्यास छ भन्ने पत्ता लागेको छैन, चिनियाँ टोलीले सम्भाव्यता अध्ययन मात्र गरेको हो । उत्खनन्को चरणसम्म पुग्न थप अध्ययन आवश्यक रहेको विभागका उच्च अधिकारी बताउँछन् । कारोबार दैनिकबाट साभार ।