यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी १६ वर्षे किशोरी सूचीमा

होमल्याण्ड खबर

२०७५ चैत्र १ गते, शुक्रबार १४:१४ मा प्रकाशित

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी १६ वर्षे स्कुले किशोरी मनोनयनमा परेकी छन् ।

ग्रेटा थन्बर्ग नाम गरेकी ती किशोरीलाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्‍याएवापत मनोनयन सूचीमा राखिएको हो । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् ।

नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् । यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् ।

नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।

थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तरगत यो प्रदर्शन गरिएको हो । शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गरिँदै छ । आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गले दावी गरेकी छन् ।

थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद अगाडि पहिलोपटक आफ्नो समुहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।