एनआरसीले गोर्खालाई असर गर्दैनः नरेन्द्र मोदी

होमल्याण्ड खबर

२०७५ चैत्र २२ गते, शुक्रबार १६:३३ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी कानुन नेसनल रजिस्टर अफ सिटिज (एनआरसी) ले गोर्खा समुदायमा केही पनि असर नपर्ने दाबी गरेका छन् ।

दार्जिलिङमा आउँदो १८ अप्रिलमा हुने चुनावको प्रचारका लागि आएका मोदीले चुनावी सभामा एनआरसीका कारण गोर्खा समुदायले कुनै क्षति ब्यहोर्नु नपर्ने बताएका हुन् ।

नेपाल भारतको सन् १९५० को मैत्री सन्धिको धारा ७ मा नेपाल भारतका दुबै देशका नागरिकहरुले एक अर्को देशमा बसेर व्यवसाय गर्ने, सम्पत्तिको भोगचलन गर्न पाउने छन् भनेर उल्लेख गरिएको छ ।

भारतीय भूमिमा गैरभारतीयको घुसपैठ रोक्न सरकारले एनआरसी लागू गर्दै आएको छ ।

असममा पनि बंगलादेशीको अवैध घुसपैठ भएको निष्कर्ष निकाल्दै सरकारले एनआरसी लागू गरेको छ ।

पश्चिम बंगालमा पनि बंगलादेशीहरुको अवैधानिक बसोबास रहेको भन्दै एनआरसी लागू गर्ने तयारीमा सरकार रहेको छ ।

उत्तर बंगालमा आयोजित चुनावी सभामा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले पश्चिम बंगालमा पनि चाँडै एनआरसी लागू गरिने जानकारी दिएपछि दार्जिलिङका नेपालीभाषी (गोर्खा) सशंकित बनेका छन् ।

एनआरसी गोर्खा समुदायलाई लक्षित गरेर होइन, बंगलादेशीहरुको घुसपैठविरुद्ध हो भनेर मोदीले भनेका छन् ।

चुनावी सभाको सम्बोधन गर्ने क्रममा बंगाल आएका मोदीले दार्जिलिङका ११ जातिलाई जनजातिको मान्यता प्रदान गर्न पार्टी तयार रहेको बताएका छन् ।