९ मंसिर २०८१, आईतवार
ताइवानी व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।
ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित प्रतिनिधिमण्डलले यही वैशाख ५ गते काठमाडौंमा नेपाली व्यवसायीसँग भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने भएको हो ।
अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्तालाई आव्हान गरिएको छ । नेपाली व्यवसायीका लागि ताइवानी उत्पादक तथा आपूर्तिकर्तासँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुनसक्ने आयोजकले विश्वास लिएको छ । कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्यपदार्थ, जुस, स्टील पाता तथा कोइला, एलईडी बत्ती तथा सिसिटिभी, क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा छलफल गरिने नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिए ।
जहाँ नेपाली व्यवसायीहरुले आफ्नो रुचि अनुसार सम्बन्धित ताइवानी व्यवसायीहरुसँग भेटघाट गरी व्यापारिक समझदारी स्थापना गर्नसक्ने अवसर रहेको देखिन्छ । अन्तरक्रियाका लागि कुनै किसिमका प्रवेश शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।