उडिरहेका दुई जहाज आकाशमै ठोक्किएः ५ को मृत्यु, १० घाइते

होमल्याण्ड खबर

२०७६ बैशाख ३१ गते, मंगलवार १६:०० मा प्रकाशित

एजेन्सीः अलास्काको आकाशमा उडिरहेका दुई जहाज आकाशमै ठोक्किँदा ५ यात्रुको मृत्यु भएको छ । त्यस्तै अन्य १० जना घाइते भएका छन्। घटनापछि एकजना बेपत्ता छन्।

दुई जहाज सि प्लेन (पानीमा उत्रिन सक्षम) थिए। दुवैमा रोयल प्रिन्सेस क्रुजका यात्रु सवार थिए। यस क्षेत्रमा घुम्न आएका उनीहरुलाई हवाई सयर गराउने क्रममा दुर्घटना भएको हो।

अमेरिकन स‌ंघीय नागरिक प्रशासनका अनुसार कुन केव इलाका नजिकै द हेविल्यान्ड डिएचसी—२ बिवर र द हेविल्यान्ड अटर डिसी—३ विमान ठोक्किएका हुन्।

दुर्घटनाको कारण खुलेको छैन। बिवरमा ५ र अटरमा ११ जना सवार थिए। एफएएका अनुसार दुर्घटनका बेला दुवै जहाज एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सम्पर्कमा थिएनन्।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले यसको जाँच थालेको छ। प्रिन्सेस क्रुजका तर्फबाट निकालिएको विज्ञप्तिमा घाइते १० यात्रुलाई उपचारका लागि अस्पताल लगिएको छ। समाचार अनुसार यो दुर्घटनका बेला बाक्लो बादल लागेको थियो।

बादलसँगै प्रतिघण्टा १४ किमि प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो। क्रुजका अधिकारीले यो घटनाबाट आफूहरु स्तब्ध भएको बताएका छन्।

घाइतेहकरुको उपचारमा कम्पनीले सहयोग गर्ने भएको छ। रोयल प्रिन्सेस शनिवार भ्यान्कुबरबाट हिँडेको थियो। यो १८ मे भित्र एङ्कोरेज पुग्नुपर्ने थियो।