जित पछि मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स हुने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १३ गते, सोमबार १०:४५ मा प्रकाशित

एजेन्सीः भारतीय लोकसभा चुनाव जित पछि प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स रहने कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

यस भन्दा पहिलो जित तथा सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमणका लागि भुटान छानेका थिए ।

मोदीले सम्भवतः जेठ २४ गते माल्दिभ्सको भ्रमण गर्ने कूटनीतिक स्रोत तथा माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।

परराष्ट्रमन्त्री सुषमा स्वराजले गत मार्च महिनामा माल्दिभ्स भ्रमण गरेकी थिइन् । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह माल्दिभ्सको सत्तामा आएपछि भारतले गरेको पूर्ण द्विपक्षीय भ्रमण त्यही थियो ।

भारत र माल्दिभ्सबीचको सम्बन्ध तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएपछि बिग्रेको थियो ।

सोलिह यामीनलाई राष्ट्रपति निर्वाचनमा गत नोभेम्बर महिनामा हराएर राष्ट्रपति बनेका हुन् ।