अमेरिकाले नेपालसहित ५ मुलुकसँग सैन्य साझेदारी विस्तार गर्दै

होमल्याण्ड खबर

२०७६ जेष्ठ १९ गते, आईतवार १६:४५ मा प्रकाशित

अमेरिकाले नेपालसहित दक्षिण एशियाका पाँच मुलुकसँग हिन्द प्रसान्त (इन्डो प्यासिफिक) रणनीति अन्तर्गत रक्षा सम्बन्ध विस्तार गर्ने योजना अघि सारेको छ ।

अमेरिकी रक्षा मन्त्रालयद्वारा हालै सार्वजनिक एक प्रतिवेदनअनुसार नेपालसँग ५ क्षेत्रमा सैन्य विस्तार गर्न चाहेको उल्लेख छ ।

इन्डो प्यासेफिक रणनीतिअन्तर्गत नेपालसँग सम्बन्ध विस्तार गर्न चाहेका क्षेत्रहरुमा प्राकृतिक प्रकोप, शान्ति स्थापना प्रयास, रक्षा व्यवसायिकता, स्थल सेना क्षमता अभिवृद्धि तथा प्रतिआतंकवाद रहेका छन् ।

‘सन् २०१८ जुनमा अमेरिकी सेना प्यासिफिक नेतृत्वले नेपाली पक्षसँग गरेको वार्ताले साझेदारी बढ्दै गएको देखाउँछ’, प्रतिवेदनमा भनिएको छ । अमेरिकाका इन्डो प्यासेफिक कमाण्डका कमाण्डर तथा अमेरिकाका उप सहायक रक्षामन्त्री एड्माइरल डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । नेपालसँग सैनिक सम्वाद गर्ने उनी सबैभन्दा उच्च स्तरका सैनिक अधिकारी हुन् । प्रतिवेदनमा सो विषय समेत उल्लेख छ ।

‘दक्षिण एशियाभित्र हाम्रो मुख्य रक्षा साझेदार भारत एवं श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालसँग साझेदारी विस्तार गर्दै लगिरहेका छौं,’ प्रतिवदेनमा भनिएको छ। अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन ‘तयारी, साझेदारी र क्षेत्रीय सञ्जालको प्रवद्र्धन’ को रुपमा व्याख्या गरिएको छ ।

चीनको बढ्दो राजनीतिक, आर्थिक, सैनिक शक्तिलाई नियन्त्रण गर्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति अघि सारेको हो। पछिल्लो समय प्यासिफिक कमाण्डको नाम परिवर्तन गरी यसलाई इन्डो प्यासेफिक कमाण्ड बनाइएको हो । यसले प्रशान्त हिन्द महासागर क्षेत्रलाई हेर्ने गर्छ ।

गत पुसमा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पओले नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्ति, विकास र समृद्धिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा इन्डो प्यासिफिक क्षेत्रका लागि नेपाल केन्द्रीय भूमिकामा रहेको उल्लेख गरेको थियो। अमेरिका भ्रमणमा गएका मन्त्री ज्ञवाली नेपाल नफर्किंदै इन्डो प्यासिफिकबारे काठमाडाैमा बहस चुलिएको थियो । अमेरिका भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री ज्ञावलीले आफूले इन्डो प्यासिफिक रणनीतिमा समावेश हुन सहमति नगरेको बताएका थिए ।

नेपाली सेनाले पहिलेदेखि अमेरिकी सेनासँग इन्डो प्यासेफिक रणनीति अन्तर्गत रहेर प्राकृतिक विपत्ति, विपत् व्यवस्थापनसहितका क्षेत्रमा काम गर्दै आएको छ । वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि अमेरिकी सेनाको प्यासिफिक कमान्ड उद्धारमा परिचालन भएको थियो। सो विषय समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।