९ मंसिर २०८१, आईतवार
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा भारतले विजयी सुरुवात गरेको हो ।
साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७ ओभर ३ बलमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।
भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले ३४, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्डयले अविजित १५ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रन बनाए ।
भारतका युजभेन्द्र चाहलले ४, जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले २/२ तथा कुलदीप यादवले १ विकेट लिए ।