सुडानमा सैन्य परिषद्ले गरेको वार्ताको प्रस्ताव विपक्षीद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०७६ जेष्ठ २३ गते, बिहीबार १२:०० मा प्रकाशित

सुडानमा प्रजातन्त्रको पक्षमा प्रदर्शन गर्दै आएका विपक्षीले सैन्य परिषद्ले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रदर्शनकारीहरूमाथि सैन्य परिषद्ले गरेको हिंसात्मक दमनपछि उनीहरूमाथि विश्वास गर्न नसकिने विपक्षीले बताएका हुन् ।

सेनाको शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्था लागु हुनु पर्ने मागसहित प्रदर्शन गरेकाहरुमाथि सेनाले दमन गरेको छ ।

अर्धसैनिक बलले लोकतन्त्र समर्थक प्रदर्शनकारीमाथि हिंसात्मक आक्रमण गर्दा कम्तीमा एक सय जनाको मृत्यु भएको र राजधानी खार्तुममा नाइल नदीबाट ४० वटा शव निकालिएको दाबी विपक्षी कार्यकर्ताहरूले गरेका छन् ।

तर सुडानको स्वास्थ्य मन्त्रालयले सय जनाको मृत्यु भएको भन्ने विवरणको खण्डन गर्दै अहिलेसम्म हताहत हुनेको सङ्ख्या ४६ मात्र भएको दाबी गरेको छ ।

खार्तुमबाट प्राप्त विवरणहरूका अनुसार र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) भनिने अर्धसैनिक बल सहरका सडकमा घुमिरहेको छ र उसको निसानामा सर्वसाधारण परेका छन् । (बीबीसी)