भारतको गुजरातबाट तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३० गते, बिहीबार १०:२० मा प्रकाशित

पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन् ।

वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेको बताइएको छ । अहिले त्यो आँधी पोरबन्दर नजिकै आइपुगेको छ ।

शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान मौसमविदले गरेका छन् । भारतीय मौसम विभागले त्यहाँ भूक्षयको सम्भावना पनि रहने चेतावनी दिएको छ ।

पूर्वतयारीका लागि अधिकारीहरूले तीन लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको छ भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको छ । विद्यालयहरू पनि बन्द गरिएको छ ।