‘नेपाल र फ्रान्सबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहमति कोशेढुंगा हुने’

होमल्याण्ड खबर

२०७६ जेष्ठ ३० गते, बिहीबार १३:०५ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाले नेपाल तथा फ्रान्सबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहमति कोशेढुंगा हुने बताएका छन् । उनले पेरिसमा महासंघ र मेडेफ इन्टरनेशनलबीच जेठ २९ गते सम्पन्न सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्रीको फ्रान्सको उच्चस्तरीय भ्रमणका अवसरमा नेपाली समय अनुसार हिजो राती सम्पन्न सो सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका हुन् । महासंघ र मेडेफबीच यसअघि पनि निरन्तर सहयोग एवं सहकार्य हुदै आएको छ ।

समारोहमा प्रधानमन्त्रीले यो सहमती दुई देशबीच आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरेका छन् । साथै, उनले स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका विषयमा समेत स्पष्ट पारेका छन् ।

महासंघका अध्यक्ष राणाले कार्यक्रममा सहभागि सबैलाई संवोधन गर्दै महासंघ र मेडेफबीच सम्पन्न सम्झौताले आगामी दिनमा नेपाल फ्रान्सबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा अझ बढी सहयोग पुग्ने विश्वास प्रकट गरेका छन् । साथै, नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा यो सहमती कोशेढुंगा हुने दावी गर्दै सहमतीपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरश कार्यान्वयन गर्न महासंघको प्रतिवद्धता रहेको उनले जनाएका छन् ।

अध्यक्ष राणाले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने समेत फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाएका छन् ।

आपसी सहमतीपत्रमा, एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।

उच्चस्तरीय औपचारिक भेटवार्तामा नेपाल फ्रान्सबीच दुई पक्षीय लगानी, प्रविधि हस्तान्तरण, केवुलकार, पर्यटन पूर्वाधार, जडीबूटी प्रशोधन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि आग्रह गरिएको छ ।