विश्वकप क्रिकेटः न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लियो

होमल्याण्ड खबर

२०७६ असार ५ गते, बिहीबार ०९:३० मा प्रकाशित

न्युजिल्याण्ड इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

वर्षाले प्रभावित हुँदा ४९ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिकाले दिएको २४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियमसनले अविजित १०३, कोलिन डी ग्राण्डहोमेले ६०, मार्टिन गुप्टिलले ३५, जेम्स निशमले २३ र कोलिन मुनरोले ९ रन बनाए ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३, कागिसो रबाडा, लुन्गी निडी र एन्डिलो फहवकुलोले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेट गुमाएर २४१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले अविजित ६७, हसिम अमलाले ५५, एडिन मार्क्रमले ३८, डेभिड मिल्लरले ३६, कप्तान फाफ डु प्लेसिसले २३, क्विनटन डि ककले ५ रन बनाए ।

न्युजिल्याण्डका लोकी फर्गुसनले ३, टेन्ट्र बोल्ट, कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित न्युजिल्याण्डको चौथो जित हो । दक्षिण अफ्रिकाको यो चौथो हार हो ।