२३ हजार डलर मिलेनियरले भारत छोडे

होमल्याण्ड खबर

२०७४ चैत्र ७ गते, बुधबार १२:२२ मा प्रकाशित

भारतमा क्रियाशील डलर मिलेनियरहरूमध्ये २३ हजारले भारत छाडेर चीन र फ्रान्सतर्फ लागेका छन् । कालोधनको अभियान सुरु हुनुअघि सन् २०१४ यता उनीहरूले भारत छाडेर लगानी लगाउन चीन र फ्रान्सतर्फ लागेको देखिएको हो ।
यीमध्ये ७ हजार मिलेनियरले सन् २०१७ मा भारत छाडेका थिए । मोर्गन स्ट्यानली इन्भेस्टमेन्ट म्यानेजमेन्टमा उदीयमान बजार हेर्ने क्षेत्रका तथा वैश्विक रणनीतिक प्रमुख रुचिर शर्माको अगुवाइमा गरिएको आँकडा अध्ययनमा यो देखिएको हो ।
भारतका धनीहरूमध्ये २.१ प्रतिशतले देश छोडेर गएका छन् । यसमा १.३ प्रतिशत फ्रान्स र १.१ चीनतर्फ लागेको देखिएको हो । १ लाख ५० हजार मिलेनियरहरूबीच यो अध्ययन गरिएको छ ।
यसका अतिरिक्त अझ केही मिलेनियरले देश छोड्न लागेको जनाइएको छ । यो भारतमा भ्रष्टाचारविरुद्ध अभियान हुन सक्ने देखेर उनीहरू भारत छोड्न लागेको देखिएको हो । अध्ययनकर्ता शर्माका अनुसार यसबारे सरकार गम्भीर हुनुपर्ने देखिएको छ । यी ठूला धनीको लगानी र उपभोगबाट हुन सक्ने लाभबाट भारतलाई वञ्चित गर्न नहुने उनको तर्क छ ।
यो अध्ययनबाट भारतीय धनाढ्यहरू जाने देशहरूमा अकल्यान्ड, दुबई, मोन्ट्रियल, तेलअभिभ र टोरन्टो आदि छन् । यसबारे अन्य विवरण भने उपलब्ध गराइएको छैन । अध्ययनका अनुसार यी देशमा भारतमा क्रियाशील मिलेनियरहरू पलायन हुन लागेका हुन् ।