काबुलमा शक्तिशाली विस्फोट, ९५ जना घाइते

होमल्याण्ड खबर

२०७६ श्रावण २२ गते, बुधबार १६:३९ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी चौकी बाहिर भएको शक्तिशाली विस्फोटमा परी कम्तिमा ९५ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे विस्फोट भएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका छन् । उनका अनुसार सवारीसाधन चेकजाँचका लागि चेकपोइन्टमा रोकिएको अवस्थामा प्रहरी चौकी बाहिर विस्फोट भएको हो । 

स्वास्थ्य मन्त्रालयका प्रव्कता वाहीदुल्लाह मायरले घाइते भएका ९५ जनमा अधिकांश सर्वसाधारण नागरिक भएको बताएका छन् । जसमा महिला तथा बालबालिका बढी छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ कुनै पनि किसिमको मानवीय क्षति नभएको पुष्टि गरिएको छ । 

उक्त विस्फोटसँगै ठूलो धुवाँको मुस्लो निस्किएको थियो । स्थानीय एक पसलेले एएफपीलाई दिएको जाकारी अनुसार उक्त विस्फोटसँगै नजिकै रहेका घरहरुका सिसा हावासँगै उडेका देखिन्थे । उनले भने, “विस्फोटसँगै मलाई रिंगटा लाग्यो । मलाई वास्तवमै के भएको हो भन्‍ने अहिलेसम्म थाहा छैन । तर, मेरो होस रहेसम्म करिब एक किलोमिटरको दूरीसम्मका पसलहरुका झ्यालका सिसाहरु फुटेका थिए ।”

उक्त हमलाको तालीबान समूहले जिम्मेवारी लिएका छन् ।  यसअघि मंगलबार आन्तरिक मन्त्रालयका कर्मारी बोकेको भ्यानमा गराइएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।