चीनमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

होमल्याण्ड खबर

२०७६ श्रावण २७ गते, सोमबार १३:०९ मा प्रकाशित

पूर्वी चीनमा शक्तिशाली आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ । पूर्वी चीनमा आएको लेकिमा नामक शक्तिशाली आँधी पछिको भारी वर्षासँगैको बाढी र पहिरोका कारण दशौं लाख मानिस विस्थापित भएका छन् ।

आँधीबाट अरु दर्जनौं मानिसहरु हराइरहेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । त्यसबाहेक आँधीले गर्दा हवाई उडान, रेलसेवा र अरु यातायात सञ्चार र विद्युत सेवा प्रभावित भएको छ ।

झेजियाङ प्रान्तमा ३ घण्टाको अवधीमा १६० मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण जलसतह बढ्दा जनजीवन अस्तव्यस्त बनेको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै, चीनको आर्थिक केन्द्र साङ्घाईमा पनि आँधीले नराम्रो क्षति पु¥याएको सिन्ह्वाले जनाएको छ । आँधीबाट २ अर्ब ५५ करोड अमेरिकी डलरभन्दा धेरैको आर्थिक नोक्सानी भएको बताइएको छ ।