१० मंसिर २०८१, सोमबार
एजेन्सीः दक्षिण भारतीय राज्यको आन्ध्रप्रदेशमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३१ जना बेपत्ता भएका छन्, भने १७ जनाको सकुशल उद्धार गरिएको छ
भारतीय सञ्चार माध्यमका अनुसार आन्ध्रप्रदेशको पूर्वी जिल्ला गोदावरीमा आइतबार अपराह्न भएको उक्त दुर्घटनामा केहीले भने पौडेर ज्यान जोगाएका थिए । डुंगामा ५० पर्यटक र ११ कर्मचारी थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनास्थल अमरावतीबाट करिब २ सय किमि टाढा रहेको देवीपटनम मण्डलको कच्चुलुरु गाउँमा भएको हो ।
विगत केही दिनयता गोदावरीमा बढेको पानीको सतहका कारण दुर्घटना भएको अधिकारीहरूको अनुमान छ ।
दुर्घटनाका समय गोदावरीमा पानीको प्रवाह ५ लाख क्युसेकभन्दा बढी थियो ।
घटनालगत्तै राष्ट्रिय विपद् व्यवस्थापन टोलीका सदस्यहरू उद्धारमा खटिएका थिए । उद्धारका लागि दुइटा डुंगा परिचालन गरिएका थिए ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले दुःख व्यक्त गरेका छन् ।
सांकेतिक तस्विर