नेता नेपाल र भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७६ मंसिर २३ गते, सोमबार १३:४७ मा प्रकाशित

भारतीय राजदूत मञ्जीव सिंह पुरी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालबीच भेट वार्ता भएको छ ।नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।

भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए । नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।

भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको थियो ।

भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । त्यसबाट उत्पन्न परिस्थितिका विषय छलफल गर्न नेता नेपाल सरकारको विशेष दूतका रुपमा दिल्ली जाने तयारी भएको थियो ।

भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष दूत बनाएर पठाउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समय नमिलेपछि नेता नेपालको दिल्ली भ्रमण रोकिएको समाचारहरु सार्वजनिक भएको थियो ।