बोइङ्गले अस्थायी रुपमा ७३७ म्याक्स विमानको उत्पादन बन्द गर्ने

होमल्याण्ड खबर

२०७६ पुष १ गते, मंगलवार ११:५१ मा प्रकाशित

अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गले आउँदो जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स सिरिजका जहाजको निर्माण बन्द गर्ने जनाएको छ ।

दुई ठूला दुर्घटनामा ३०० जना भन्दा बढीको मृत्यु भएपछि विश्वभर बोइङ्ग ७३७ म्याक्स संस्करणका विमान ग्राउण्डेड भएका छन् पछिल्लो ९ महिनादेखि ।

तर बोइङ्गले सो संस्करणका विमानको उत्पादन भने रोकेको थिएन । इन्डोनेसिया र इथियोपियामा ७३७ म्याक्स विमान दुर्घटना हुँदा ३०० जना भन्दा बढीको मृत्यु भएको हो ।

दुवै दुर्घटना समान खालको समस्याका कारण दुर्घटनामा परेको र ७३७ म्याक्सका केही फिचरमा समस्या देखिएको अध्ययनबाट खुलेको थियो । त्यसपछि विश्वव्यापी रुपमा ७३७ म्याक्स विमान ग्राउण्डेड छन् ।

तर बोइङ्गले ७३७ म्याक्स विमानमा देखिएको समस्या समाधान गरेको बताएको छ । आउँदो वर्षको अन्त्यसम्म पुनः ७३७ म्याक्स विमानमार्फत विश्वव्यापी रुपमा उडान हुने अपेक्षा बोइङ्गले गरेको छ।

अमेरिकी नियामक निकायले भने सो संस्करणको विमानलाई चाँडै नै उडानका लागि स्वीकृति प्रदान नगरिने स्पष्ट पारेको छ ।

अमेरिकाको वासिङ्गटन, सियाटलमा रहेको बोइङ्ग अमेरिकाको ठूलो विमान निर्माता कम्पनी मध्ये एक हो । यसले उत्पादन गरेका विमान विश्वका विभिन्न देशले किन्ने गरेका छन् ।