१० मंसिर २०८१, सोमबार
एजेन्सीः दक्षिण अमेरिकी देश चिलेको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ ।
कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ ।
सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । भाल्पाराइसो शहरका मेयर खोर्खे शार्पले स्थानीय टेलिभिजन च्यानल २४ ओरासलाई जंगलमा कसैले नियतबस आगो लगाएको बताएका छन् ।
अहिलेसम्म आगलागीका कारण मानिसको ज्यान गएको खबर भने आएको छैन । शहरको माथिल्लो क्षेत्रका दुई ठाउँबाट आगलागी भएको मेयरले बताएका छन् । डढेलो नियन्त्रणमा लिने प्रयास अति तीव्र पारिएको उनले उल्लेख गरेका छन् ।