काजकिस्तानमा विमान दुर्घटनाः कम्तीमा १४ को मृत्यु

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १३:४४ मा प्रकाशित

कजाकस्तानमा आज बिहान एक यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

बेक एयरको फ्लाइट नम्बर २१०० को विमान अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन ।

दुर्घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका छन् । उनीहरूले उद्धार कार्य गरिरहेको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोक्किएर एउटा दुईतले भवनमा जोतिएको बताइएको छ ।

विमानमा आगो भने नलागेको बताइएको छ ।

कम्तीमा ६० जना मानिसहरुलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ । तिनमध्ये बालबालिका पनि छन् ।

विमानमा चालक दलका ५ सदस्य र ९३ यात्रु सवार थिए ।

दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।