१० मंसिर २०८१, सोमबार
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोना सँगसँगै रहेको रियल मड्रिडले लिग अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित निकालेको छ ।
शीर्ष स्थानको बार्सिलोना पुछारको स्पानियोलसँग २–२ को बराबरीमा रोकिँदा शीर्ष स्थानको होडमा रहेको रियल मड्रिडले गेटाफेमाथि ३–० को शानदार जित दर्ता गरेको हो ।
अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गरेको हो । रियल मड्रिडका लागि राफायल भारानेले र लुका मोड्रिकले एक–एक गोल गरे । एक गोल उपहारमा पायो ।
भारानेले ३४ औँ मिनेटमा गोल गरेको भनिएको थियो सुरुमा तर त्यो गोल भारानेले नभई भारानेको प्रहार रोक्ने प्रयासमा गेटाफेका गोलरक्षक डेविड सोरियाले गरेको देखियो । भारानेले ५३ औँ मिनेटमा गोल गरेका हुन् ।
इन्जुरी समयको छैटौँ अर्थात खेलको ९६ औँ मिनेटमा फेडेरिको भाल्भेर्देको पासमा लुका मोड्रिकले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो ।
जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट बार्सिलोना समान ४० अंक भएको छ । ३० अंक रहेको गेटाफे सातौँ स्थानमा झरेको छ ।
शनिबार राति नै भएको खेलमा लेभान्टेलाई २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिड १९ खेलबाट ३५ अंकसहित पुनः तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा भ्यालेन्सियाले एइबरलाई १–० ले पराजित गरेको छ ।