अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा,आज कूटनीतिक वार्ता हुने

होमल्याण्ड खबर

२०७६ फाल्गुन १३ गते, मंगलवार १२:११ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण सोमबारबाट आरम्भ गरेका छन् ।

दुई दिने भारत भ्रमणका क्रममा सोमबार राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इभान्का ट्रम्प, ज्वाईं ज्यारेड कुश्नर लगायत उच्च पदस्थ अमेरिकी अधिकारी सहभागि छन् ।

उनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं नै विमानस्थल पुगेका थिए । राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउनमा केन्द्रित हुने बताइएको छ ।

ट्रम्पले भ्रमणको पहिलो दिन सोमबार गुजरात राज्यको अहमदावाद शहरस्थित विश्वकै सबैभन्दा ठूलो मोटेरा क्रिकेट रंगशालाको उद्घाटन गरे भने त्यहाँ आयोजित ‘नमस्ते ट्रम्प’ र्‍यालीमा दशौं हजार मानिसहरुलाई सम्बोधन समेत गरे ।

सोमबार नै उनले ताज महलको पनि भ्रमण गरे । उनी बेलुकी नै राजधानी दिल्ली फर्किसकेका छन् ।

दुई नेताबीच आज मंगलबार कूटनीतिक वार्ता हुनेछ ।

हिन्द–प्रशान्त क्षेत्रमा साम्यवादी मुलुक चीनको बढ्दो प्रभावबाट चिन्तित दुबै मुलुकका नेताहरुबीच यसपटक भएको भेटलाई निकै महत्वका साथ हेरिएको छ ।