१० मंसिर २०८१, सोमबार
भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । अन्य एक सय ८९ जना घाइते भएका छन् ।
गुरु तेज बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमले हिंसाका कारण अहिलेसम्म २० जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईलाई जानकारी दिएका छन् ।
अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
तीन दिनसम्म दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसाको बीचमा देशको राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले हिंसा प्रभावित क्षेत्रको भ्रमण गरे र स्थानीय समुदाय नेताहरुसँग छलफल गरे ।
समाचार एजेन्सी एएनआईका अनुसार, अजित डोभालले प्रधानमन्त्री र मन्त्रिपरिषद्को भ्रमणको बारेमा जानकारी दिनेछन् ।
नागरिकता कानुनलाई लिएर प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौंयताको सबभन्दा खराब हिंसा भएको छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएका छन् ।
नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यस अघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि भने प्रदर्शनले हिंसाको रुप लिएको हो ।