मन्त्री यादवले मौरिससका प्रधानमन्त्रीसँग भेटवार्ता

होमल्याण्ड खबर

२०७६ फाल्गुन १८ गते, आईतवार १५:३३ मा प्रकाशित

मौरिससको भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले त्यहाँका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथसँग आज पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देशबीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौरिससका प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउँदै यस वर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुन गईरहेको र नेपाल तथा मौरिसस दुवै देश यसबाट पर्ने असरबाट जोखिमयुक्त रहेकाले मौरिससको सहभागिता महत्वपूर्ण हुने कुरा मन्त्री यादवले उल्लेख गरेको सहसचिव एवम प्रवक्ता सुमन घिमिरेले जनाएका छन् ।

मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि आव्हान समेत गरे ।

मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन समेत व्यक्त गरे ।

तत्पश्चात मन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको थियो ।

यस अघि मन्त्री लगायतका नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँको व्यवस्थापिका नेसनल एसेम्वलीको सभा सञ्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । सो अवसरमा मन्त्री लगायत प्रतिनिधि मण्डलका सदस्यहरुलाई मौरिससका सभामुखले स्वागत गरेका थिए ।