कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या बढेपछि इटालीमा १० दिन विद्यालय बन्द

होमल्याण्ड खबर

२०७६ फाल्गुन २२ गते, बिहीबार १०:१६ मा प्रकाशित

कोरोना भाइरसको संक्रमणको प्रकोप खेपिरहेको इटालीले विद्यालयहरु बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासमा रहेको इटालीले आजदेखि १० दिनका लागि सबै विद्यालय बन्द गर्ने भएको हो ।

त्यहाँ विद्यालय र विश्वविद्यालयहरु मार्च १५ सम्म बन्द हुने अधिकारीहरुले बताएका छन् ।

यस्तै सबै व्यवसायिक खेलकुद प्रतिस्पर्धाहरु बन्द रंगशालामा हुने भएका छन् । यसरी बन्द रंगशालमा हुने खेलमा इटालियन सिरी ए फुटबल अन्तर्गतका खेलहरु पनि छन् ।

कोरोनाभाइरस संक्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ । त्यो युरोपको सबैभन्दा गम्भीर संक्रमण हो ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन् ।

देशको उत्तरी क्षेत्रमा ३,००० भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । तर इटालीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ ।

विश्वभर कोरोना भाइरसका कारण झण्डै ३२ सय जनाको मृत्यु भएको छ । यस्तै ९० हजार भन्दा बढी संक्रमित भएका छन् ।