राम जन्मभूमिबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती शुरू

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार १४:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मकाे जन्मभूमिबारे दिएको अभिव्यक्तिका कारण भारतमा रहेका नेपालीहरुमाथि ज्यादती शुरु भएको छ ।

भारतको विश्व हिन्दू सेनाले वनारसमा रहेका नेपालीको जबरजस्ती कपाल खौरिने तथा नेपाल तथा प्रधानमन्त्री ओलीविरुद्ध चर्कौ नारा लगाउन बाध्य पारेका छन्। हिन्दू सेनाले कपाल खौरिदिएर एक जना नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखाएर प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध नारावाजी गर्न बाध्य पारेको भिडियो सञ्जालमा भाइरल भइरहेका छन्।

राम नेपालमै जन्मेको र त्यो स्थान पर्सा जिल्लाको ठोरी भन्ने स्थानमा रहेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले केही दिन अघि व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिका विरुद्धमा शिव सेनाले त्यस्तो प्रतिक्रिया दिएको हुनसक्ने बताइएको छ ।

हिन्दू सेनाले प्रधानमन्त्री ओलीलाई होसमा आउन चेतावनीको भाषा समेत बोलेका छन् । उनीहरुले बनारसमा रहेका नेपालीलाई पनि ओलीले यस्तै बोल्ने काम गरिरहेमा नराम्रो हुने धम्कीसमेत दिन थालेका छन् ।

बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दू सेनाले चेतावनीसहितको एक पोस्टर टाँसेका थिए। सोही साँझ हिन्दू सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौराइ दिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन्। यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको तथा प्रधानमन्त्री ओलीले आफ्नाे भनाइ सच्याउनुपर्ने मागसमेत राखेका छन् ।