भारतीय प्रधानमन्त्री मोदीले अयोध्या पुगेर गरे राम मन्दिरको शिलान्यास

होमल्याण्ड खबर

२०७७ श्रावण २१ गते, बुधबार १६:०५ मा प्रकाशित

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन्। दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा मन्दिरको जगमा स्थापना गरेका हुन् ।

हेलिकप्टर मार्फत बिहान दिल्लीबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा तथा आरती गरेका थिए । भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी छन् । सोही कार्यक्रममा सहभागी भएका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो। दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।