बिस्फोटक पदार्थ भण्डारमा बिस्फोट, १३५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार ११:१८ मा प्रकाशित

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको बिस्फोटमा जीवन गुमाउने संख्या १ सय ३५ पुगेको छ । बेरुतस्थित बिस्फोटक पदार्थ भण्डारमा मंगलबार बिस्फोट भएको हो ।

बिस्फोटमा चार हजार भन्दा धेरै मानिस घाइते भएका छन् । राष्ट्रपति माइकल आउनले  असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण बिस्फोटन भएको बताएका छन् ।

लेबनान सरकारले बिस्फोटबारे अनुसन्धान शुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ । बिस्फोटको आवाज करिब २ सय ४० किलोमिटर टाढा रहेको साइप्रससम्म सुनिएको थियो । बिस्फोटका कारण भवन भत्किएर खण्डहरमा परिणत भएका छन् ।

बिस्फोटबाट टाढा–टाढासम्मका भौतिक संरचनामा समेत क्षति पुगेको छ । यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञले बेरुत बिस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक बिस्फोट मध्येको एक भनेका छन् । दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा खसालेको अणु बमको शक्तिको १० भागको एक भागजति शक्तिशाली बिस्फोट बेरुतमा भएको उनीहरुले बताएका छन्