एयर इन्डिया एक्सप्रेस विमान दुर्घटना : पाइलटको मृत्यु, कयौं घाइते

होमल्याण्ड खबर

२०७७ श्रावण २३ गते, शुक्रबार २२:५२ मा प्रकाशित

काठमाडौं । एयर इन्डिया एक्सप्रेसको बोइंग विमान भारतको केरला स्थित कालीकटमा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। कयौं यात्रु घाइते छन्।घाइतेहरुको उद्धारको कार्य चलिरहेको छ। दुर्घटना भएको उक्त विमान दुई टुक्रा भएको छ।

१९१ यात्रु बोकेर भारत फर्केको बोइङ ७३७ विमान विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

उक्त विमानमा ६ चालकदलका सदस्य सहित २ पाइलट र १७४ यात्रु सवार थिए।

दुवईबाट आएको विमान नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो। भारी बर्षाका कारण विमान अवतरण क्रममा चिप्लिएको बताइएको छ।

दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। दुर्घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाका मुख्यमन्त्री पिनाराई विजयन सँग टेलिफोन मार्फत जानकारी लिएका छन्। उद्धारमा कुनै कमी हुन नदिन मोदीले आग्रह गरेका छन्।