देशबाहिर कोरोनाले १९१ नेपालीको ज्यान लियो

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १६:०३ मा प्रकाशित

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १९१ नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भएपछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो  ।

शनिवार साँझसम्म नेपालसहित विश्वभर २६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ ।

गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।

गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन् ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।

हालसम्म नेपालसहित ५५ हजार ९२५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म उनीहरुको उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना छन् । साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९,सिंगापुरबाट २९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन् ।

त्यस्तै, फिलिपिन्सबाट २०१ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट पाँच जना जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् ।  भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक हजारौं रहेको छ ।

२४६ जनाको शव नेपाल ल्याइयो
विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको  जनाइएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।