फेसबुकका कारण भारतमा हिंसा, प्रहरीको गोलीबाट २ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार ०९:०३ मा प्रकाशित

काठमाडौं । भारतको बैंगलोरमा सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । सयौं प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

हिँसा असामान्य बन्दै र नियन्त्रण बाहिर गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । सो शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो । हाल ति क्षेत्रमा कर्फ्यु लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन् । प्रहरीले ११० जनालाई नियन्त्रणमा लिएको बताएको छ ।

कांग्रेस सांसद श्रीनिवास मूर्तिको भतिजा नाता पर्ने नवीन भन्ने व्यक्तिले फेसबुकमा मुस्लिम समुदायको भावनामा ठेस पुग्ने गरी विवादित कुरा पोष्ट गरेपछि त्यहाँ बिरोधको थालनी भएको थियो। त्यसको बिरोधमा मुस्लिम समुदाय उत्रियो र घटनाले हिंसाको रुप लियो ।

प्रदर्शनकारीले प्रहरी स्टेशनमा ढुंगामुढा गर्नुका साथै केही गाडीहरु जलाइदिएका छन् । उनीहरुले कांग्रेस विधायक श्रीनिवासको घर तोडफोडसमेत गरेका छन् । नवीनलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।