बेलायतका पूर्व राजदूतको शव जंगलमा भेटियो

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार १०:५४ मा प्रकाशित

काठमाडौं । नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०:३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा उहाँको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिक रूपमा भइ नसकेको भए पनि प्रहरीले उहाँको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताइएको छ ।

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले ३ पटकसम्म सर्वसाधारणका लागि खोजी कार्यमा सहयोग गर्न अपिल गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचर्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरिएको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गर्नुभएको थियो । बेलायतको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो । उहाँका ३ सन्तान र १ श्रीमती छन् ।